Realtime Web StatisticsRealtime Web Statistics
0 comments.

अमेरिकी डायरी

निन्द्रा नलागे पनि विदाको स्वाद लिन ओछ्यानमै कोल्टे फेर्दै सुतिरहें । गाउँमा बाआमा उठेर गाइबस्तुलाई घाँस, खुँडो गरेर विहानको खाना खाएर पनि फेरी मेलापात जाने बेला भैसक्यो । आँफु भने लम्पसार छु अझै । हरेक दिन उठ्ने बेलामा बुवाले घरमा छँदा ‘सबेरै नउठ्नेले जिन्दगीमा प्रगति गर्न गार्हो छ है बाबु’ भनेको सम्झन्छु । होला पनि, खै अहिलेसम्म केही गर्न सक्या हैन ! उठेर पो के गर्नु ? मौसम परिवर्तन हुने बेला भएर होला बाहिर पनि हेरिनसक्नु छ वातावरण । रुखका रंगिन पातहरु भुँइभरी झरेका छन् । रुखहरु खङ्ग्रङ्ग ठडिएका उजाड दुनियाँ देख्दा मन झन् उदासिन्छ । भेट्नु पर्ने पनि कोही छैन । फुर्सद नै कस्को छ र ! बरु मन प्रफुल्ल बनाउनु छ भने नेपालतिर फोन गर्‍यो, हत्ते गरेर कुरा गर्छन् । बाबु, नानी के छ ?, भन्छन्, आनन्द लाग्छ एकछिन भएनी । यहाँ त मान्छे पनि के सार्हो दौडीएका हुन्, लाग्छ कि मरेपछि नि यमराजले overtime pay गर्नेछन् ।
1 comments.

अमेरिका


अघिल्लो हप्ता आफ्नै निधारमा बन्दुक तेर्सिएको थियो । हिजो विहान काममा जाँदा ढोकैमा रगतपच्छे छ । ए दैब ! आफ्नो निधारमै बन्दुक ताकेर लुटेको घटनाले मन तर्सिरहेको बेला फेरि अर्को त्रासदी थपियो । भित्र गएँ । दुइ पुलिस अफिसर राति काम गर्ने मेरो साथिलाई केरकार गर्दै थिए । बुझेको त दुइजना ग्राहक एकआपसमा ३ डलरका लागि चक्कु हानाहान गरेका रहेछन् । अस्ति पनि यसरी नै एकहुल प्रहरी आएका थिए । छानबिन गरे । फिङ्गर प्रिन्टदेखि लिएर नाइटभिजन हेलिकप्टरले समेत खोजि गरे तर अहिलेसम्म लुटेराको नामोनिसान छैन । यि त मैले भोगेका भए तर सुन्नलाई दिनहुँ दिनबिराएर यस्ता घटना खाँचो हुन्न । कहीं प्राण उड्छन्, कहीं घाइते मात्रै । अन्जान बस्ती, अन्जान मानिस साँझबिहान त्यसै त्यसै तर्सिएर सास दबाउँदै हिंड्नु पर्ने । गएको महिना मात्रै दुइजना नेपाली गोलि प्रहारबाट मारिए । अरु देशका पनि यस्ता दुर्घटनाका सिकार भए होलान तर नेपालिका चासो बढि हुने रहेछ । बेलाबेला हुने नेपाली जमघटहरुमा कुरा गरेको सुन्छु, ढुक्क भएका, निश्चिन्त भएका मनहरु विरलै छन् । यसो भन्दैमा अन्यन्तै आतंकित पनि होइन । कस्तो भने, मध्यरातमा चिहानघारीको बाटो हिंडे जस्तै ढुकढुकी बढेर मुटु फुलिरहने ।
0 comments.

आँफैलाई चिट्ठी

आँखा चिम्म गर्दा
संसार सुन्दर देख्छु म
निस्पट्ट अन्धकारमा
सबै एकै रङ
सबै समान
सबै एकैनाश ।

आँखा खोल्न तर्सिन्छु
तर्सिन्छु उज्यालो सँग
भेदभाब, इर्स्या, प्रतिस्पर्धा
यि साराको भारी
बोकेर आउने
"उज्यालो" भन्दा
अन्धकार औधी प्यारो ।

तिमी त्यहाँ पुग्यौ
उ त पुगीसक्यो
उनिहरुले त भेट्टाये छन् नि
त्यो तिमी भन्दा अघी नै रहेछ ..
यता उता चारैतिर
अस्तित्वको खेलोफड्को
पहिचानको दौडधुप ।

मलाई पनि
आफ्नो अस्तित्वलाई
आफ्नो पहिचानलाई
अनी आँफैलाई
केही भन्न मन छ
अन्तर्मनका भाब लेखी
चिट्ठी पठाउन खोज्छु
तर मेरो त
ठेगाना नभएको
अस्तित्व पो रहेछ ।

*********************

यो पनि हेर्नुहोस् ।
जय
सेवा
0 comments.

निमोठिएका कोपिला र आमाको सपना

उनी गर्भमा थिइन् । उनका पिताको देहावसान भयो । विचरी चन्द्रमा गर्भमै टुहुरी बनिन् । उनले कहिल्यै आफ्नो बुवाको अनुहार देख्न नपाउने भइन् । सन्तानको मुहार पनि हेर्न नदिई बाबुलाई मृत्युले लग्यो ।

आमा रोगी थिइन् । तैपनि उनि गाउँघरमा ज्याला मजदुरी गरेर निर्वाह गरिन् । त्यो गरिब झुपडिमा एकरात नवजात पाहुनाको उपस्थिती भयो । ति एक्ली दुखिया असाध्यै खुसि भइन् । त्यो पुर्णिमाको झलमल्ल रात सम्झेर उनले आफ्नी छोरीको नाम समेत चन्द्रमा राखिदिइन् । चन्द्रमा साँच्चै नै चन्द्रमा जस्तै उज्याली, चञ्चल अनि अनुहारमा मुस्कान मात्रै । रोएको त चन्द्रमाकी आमाले समेत कहिल्यै सुन्नै परेन । दिन वित्दै गए । चन्द्रमाकी आमाले पनि छोरीको आगमन पछि पति वियोगको पीडा भुल्दै गइन् । उनी रोगी भए नि गरिबी र भोको पेटले रोगी भनेन । अझ अब त छोरीको लागि भएनी उनले दिनरात छिमेकी घरमा मजदुरी गर्नु मजबुरी बनेको थियो । ढाडमा पछ्यौरीमा सानि नानी झुण्ड्याएर कहिले मेलापात गर्थिन् । कहिले अर्काका जुठा भाँडा माझ्ने गरेर जिविका चलाउदै थिइन् । तर भित्रभित्रै चन्द्रमाकी आमालाई रोगले गाँज्दै गयो । क्षयरोग रहेछ तर गरिवि र अन्धविश्वासले धामीझाँक्री र झारफुकतिर डोर्यायो ।


0 comments.

Happy Valentine's Day !!!

एक थुँगा फुल
एक पाप्रो कार्ड
हातमा लिएर
मछेराले जाल हान्न
लागेजस्तै
वर्षभरी ढुकेर
Valentine को पछि
दगुरिरहेछन् जमातहरु
विना अर्थ
विना महत्व

आज तिथी परेछ
मलाई चाहिएन
यो श्राद्ध गर्न जुरेजस्तो
वार्षिकी Valentine's Day

म कामबाट
थकित फर्किएको पल
तिम्रो कोमल
शब्द-गुच्छाहरुको
मलमलमा
मेरो थकान विलाओस्
रहरहरु, सपनाहरु
तिमी भन्दा पर हुन्नन्
ति हरेक पल
ति हरेक क्षण
Happy Valentine !!!