Realtime Web StatisticsRealtime Web Statistics

निमोठिएका कोपिला र आमाको सपना

उनी गर्भमा थिइन् । उनका पिताको देहावसान भयो । विचरी चन्द्रमा गर्भमै टुहुरी बनिन् । उनले कहिल्यै आफ्नो बुवाको अनुहार देख्न नपाउने भइन् । सन्तानको मुहार पनि हेर्न नदिई बाबुलाई मृत्युले लग्यो ।

आमा रोगी थिइन् । तैपनि उनि गाउँघरमा ज्याला मजदुरी गरेर निर्वाह गरिन् । त्यो गरिब झुपडिमा एकरात नवजात पाहुनाको उपस्थिती भयो । ति एक्ली दुखिया असाध्यै खुसि भइन् । त्यो पुर्णिमाको झलमल्ल रात सम्झेर उनले आफ्नी छोरीको नाम समेत चन्द्रमा राखिदिइन् । चन्द्रमा साँच्चै नै चन्द्रमा जस्तै उज्याली, चञ्चल अनि अनुहारमा मुस्कान मात्रै । रोएको त चन्द्रमाकी आमाले समेत कहिल्यै सुन्नै परेन । दिन वित्दै गए । चन्द्रमाकी आमाले पनि छोरीको आगमन पछि पति वियोगको पीडा भुल्दै गइन् । उनी रोगी भए नि गरिबी र भोको पेटले रोगी भनेन । अझ अब त छोरीको लागि भएनी उनले दिनरात छिमेकी घरमा मजदुरी गर्नु मजबुरी बनेको थियो । ढाडमा पछ्यौरीमा सानि नानी झुण्ड्याएर कहिले मेलापात गर्थिन् । कहिले अर्काका जुठा भाँडा माझ्ने गरेर जिविका चलाउदै थिइन् । तर भित्रभित्रै चन्द्रमाकी आमालाई रोगले गाँज्दै गयो । क्षयरोग रहेछ तर गरिवि र अन्धविश्वासले धामीझाँक्री र झारफुकतिर डोर्यायो ।


छिमेकीको घरमा विवाह भोज थियो । एकाविहानै चन्द्रमाकी आमालाई भाँडा माँझ्न सघाउनको लागि छिमेकी दाई निम्ता लिएर आएका थिए । निकै बेर बोलाउँदा पनि उनी ढोका खोलेर बाहिर देखा परिनन् । घाम झुल्किसक्यो । यति सा¥हो त उनी कहिल्यै सुत्ने थिइनन् । चिसो पस्यो चसक्क । केहि छिमेकी मिलेर उनको घरको दैलो भत्काइदिए । भित्र उनि एक वर्षकी छोरी चन्द्रमा च्यापेर निदाएकी रहिछन् फेरी कहिल्यै नब्यूँझने गरी । त्यो अवोध बालिकालाई के थाहा ? भोकले उनि बल गरिगरि आमाका दुधका लाम्टा चुसिरहेकी । 

चन्द्रमालाई भोकलाग्दा दूध चुसाउने, ढाडमा झुण्ड्याएर संसार घुमाउने आमा अब रहिनन् । ठूली भएकी भए, बुझ्ने भएकी भए उनि पनि रुन्थिन् होला मूर्छा पर्ने गरी आमाको विछोडमा । अहिले पनि उनि रोएकी छन् तर भोकाएर । उनलाई अरु केही थाहा छैन । भोक लागेर आन्द्रा दुखेका छन् । रुवाई त एउटै हो तर बुझाई फरक ।

उनी टुहुरी भएर अर्काको घरमा पालिइन् । जति उनि हुर्कदै गइन् । उनि सँगसँगै दुःख पनि हुर्कदै गयो । चारपाँच वर्षकी बालिकाले भारी बोकिन् । घाँसदाउरा गरिन् । कम्मरका छाला पिल्सिने गरी पानीका घैटा बोकिन् । उनि प्रति दया गर्ने कोही भएन । जसले सहारा दिए । उनलाई जाँडरक्सी खुवाएर अचेतन शरीरको खुब श्रमशोषण गरे । त्यो कलिलो जिउभरी जंगलका घाँस र दाउराले कोतरिएका घाउको पीडा पनि उनलाई थाहा भएन नशाको वेहोसिमा ।

अहिले उनि सात वर्षकी भइन् । पाँच वर्षको उमेरमा उनका यि कारुणिक कहानीले भाब विव्हल हुँदै ममतामयी आमाहरुको समुहले उनको उद्दार गरे । अहिले उनि तिनै आमाको साथमा छिन् । पढ्दैछिन् । पुराना घाउ पुरिदैछन् उनका मनभित्रैबाट ।

चन्द्रमासँगै एउटै छानोमुनि बस्दै आएका उज्वलको कथा पनि दर्दविदारक छ । समाजको आँखाबाट आफ्ना नाजायज कर्मको परिणाम लुकाउन कसैले सालनाल सहितको बच्चा बाँस झ्याङमा फ्यालेका रहेछन् । नवजात शिशु आमाको न्यानो काखमा हुनुपर्नेमा त्यो फोहोर र पतझडमाथि वेवारिसे थियो । पापिष्ट जोडीको पापकर्मले एक प्राणि बाँसझ्याङमा छट्पटाइ रहेछ ।

आँखासम्म खुल्न नसकेको त्यो बालकलाई कागले आफ्नो खुराक सम्झेर ठुँगीरहेको अवस्थामा एक दयालु ह्रदयले देखेछ । कोही मन ढुङ्गा छन् कोही मन भगवान । ढुङ्गा मनले जिउँदो प्राण झाडीमा हुत्याइ दियो अनि भगवान मनले उसको प्राण बचाएर घरमा ल्यायो । कागको ठुँगाइले एउटा आँखा विग्रिएछ । उज्वलको जिवन भने उज्यालो हुन सकेन बाँचुन्जेललाई । तिन वर्ष ति गरिबले उज्वललाई पालनपोषण गरे । हुर्काए । ति गरिब ब्यक्ति मनका होइनन् धनका गरिब थिए । उज्वलको पढन् बेला भएको थियो । अब मनले मात्र हुने थिएन । धन पनि चाहियो । उज्वलको पठनपाठन धान्न उनलाई समस्या थियो । उहि आमाको समुहले यो कुराको जानकारी पाए । उनलाई पनि आफ्नो न्यानो काखमा लिए ।


दिपा र शिखा अहिले पाँच वर्षका भए । उनिहरु जुम्ल्याहा हुन् । उनिहरु जन्मिएको महिना दिन नवित्दै यो घरका सदस्य बन्न पुगे । बुबा अपाङ्ग हुनुहुन्थ्यो । आमा उनिहरु जन्मिएको एघारौँ दिनदेखि वेपत्ता हुनुभयो । रहरले, करले, बाध्यताले या डरले के ले हो थाहा भएन । रहस्यमय तरिकाले उहाँ वेपत्ता भएपछि ति वालिकाको विजोगका दिन सुरु भए । कस्तो विडम्बना ! जन्मेर आमाको दुध धित मर्ने गरी खान पनि पाएनन् । बाबु असक्त भएकाले उनिहरु जिवित अभिभाबकका टुहुरा सन्तान बन्न पुगे । आजभोलि स्कुल जान्छन् । अनभिज्ञ छन् आफु माथिका अनिष्ट घटनाका बारेमा ।

चार वर्षको उमेरमा बाबुआमा दुबैजना एच.आइ.भि. एड्स संक्रमित भएर परलोक भएपछि प्रतीक पनि यो घरका सदस्य बन्न पुगे । अहिले तेह्र वर्षको भएका छन् । उनि पनि पुराना खाटा बसेका घाउ कोट्याउने पक्षमा छैनन् ।

माया विनाको जिवन अकल्पनिय छ । जिवन बन्दैन जिवन जहाँ ममता छैन । पानि सुकेको खोला जस्तो अस्तित्व विहिन जिउँदो शरीर । हामी पारिवारिक न्यानो प्रेममा हुर्किएकाले कल्पना गर्दा नि कहाली लाग्छ तर कसैको वास्तविक जिन्दगी हुर्कन नपाउँदै कलकलाउँदा रहरहरु, सपनाहरु निमोठिएका कटुयथार्थ साँच्चै ह्रदयविदारक हुने रहेछन् । म एकसाँझ त्यहाँ पुगें जहाँ चुँडिएका कोपिला संगालेर सुन्दर माला बनाउने अथक प्रयासमा जुटेका थिए आमाहरु । महान आमा, जो कसैकी निजी आमा होइनन् । जसले आमा देखेनन्, जसले आमाको काख पाएनन्, वात्सल्य पाएनन् उनै सन्तानका लागि बनेकी आमा हुन् उनी ।

यस्तै समय र नियतिले ठगिएका पैंतीस सन्तान सम्हालेर ति महान आमाहरु उर्लाबारीमा नमुना बाल गृह (अनाथाश्रम)मा बसेका छन् । अहोरात्र खटिएका छन् । हरेकका आ–आफ्नै दर्दभरे कहानी सुनेर धुरुधरु रुन मन लाग्छ । यि दुःखका पहाडहरु सम्हालेर त्यहाँ घामको सुनौलो किरण छर्न प्रयत्नरत छन् । यि फक्रन नपाउँदै नियतिले चुंडाएका कोपिलालाई संगालेर मोतिको हार बनाउने ति आमाहरु – मिना बराल र शुशिलाधर थापालाई हार्दिक कृतज्ञता छ । उनिहरुलाई हातेमालो गर्ने महिला विकास तथा बालवालिका चेतना केन्द्र, विभिन्न संघसंस्था र समाजसेवीलाई आभार ।

भोको पेट, नाङ्गो आँङ र नियतिले यो र्दुगति बनाएका यि अनाथ वालवालिकालाई हामी पनि आफ्नो तर्फबाट केही सहयोग गर्न सक्छौँ कि ?



0 comments.:

Post a Comment