Realtime Web StatisticsRealtime Web Statistics

टिमुर्केहरु

माइ संसारमा प्रकाशित भैसकेको छ । यहाँ अलिकति थपथाप गरेको छु ।

टेबुल छेउमा झुण्डिएको बेलस्विच चार पटक दबाइसकें । कोही देखा पर्दैनन् । म आफैँ जुरुक्क उठेर ढोकाबाट मुन्टो निकालेर काउन्टरतिर चिच्याएँ ‘ए बैनी ! एक प्लेट भट्मास चिउरा लेऊ न !’साथी र म सितनको अभावमा चिसिँदै गरेको वियर हेर्दै पर्खियौँ निकैबेर । उखरमाउलो गर्मी, टाउका माथिको स्थिर पंखा तीनवटा पखेँटा फिँजाएर टक्क अडिएको । कुरो बुझ्नै पर्यो–लोडसेडिङ्ग । आजकाल होटलहरुमा सजिलो भएको छ, बिजुलीको खपत पनि कम हुने, बत्ति भए नी छैन भन्दे भैहाल्यो । 

भट्मास चिउरा आको छैन अझै र छाँटकाट पनि देखिएन मिलिक्कै आउने । आफ्ना अघिल्तिर गिलासमा अर्ध चिसो बियर भुल्भुलाउँदैछ । मुखले सितन पर्खदैछ, आँतले चिसो खोज्दैछ । मेरा वियरपार्टनर चक्रपाणी झन् अधैर्य भैसके । आखिरमा उखरमाउलो गर्मी र आफ्ना अघिल्तिरको गिलासको सम्मोहन थाम्न नसकेर विनासितन उठायौँ गिलास, ठोक्यौँ ‘चियर्स’ र एकैसासमा रित्यायौँ । हामीलाई गर्मी उतार्नुको हतार थियो । स्वाँट्ट पारेर एकछिन मुख बिगार्नु मात्रै कष्ट हो नि । क्यार्नु ! कष्ट निवारक भटमास–चिउराको आगमन हुने कुनै संकेत छैन । हुन त देब्रे हातले स्वाइँया गिलास रित्याएर दाहिने बाहुलाले स्वाट्ट जुँगा पुछ्ने रहरलाग्दो काइदा पनि देखेकै हो । केही पारखीहरुले त मुखै फोडेर बोलेका पनि छन्— ‘एत्राको चाहिन्छ सितन ? मुख बिग्रिनुमा त छ असली मज्जा ।’

चक्रपाणी र मेरा कुरा असाध्यै मिल्ने । सानैबाट झुम्राको फुटबल, गुच्चा, खोपी, सबै खेल, उपद्रो, घुमघाम सबैमा जोडी जमेको थियो । कतै उपद्रोमा पक्डाउ खाइहाल्यो भने दोष चैं अर्कामाथि थोपर्ने गथ्र्यौँ । नभए त कन्सिरीका रौँ तन्किदा कम पीडा हुन्छ ? त्यसरी दोष थोपराथोपर कर्म पनि हाम्रो दोस्तीको अलिखित विधान भित्र नै थियो । अलिपछि बुझ्ने हुँदै जाँदा केही धारा, उपधारामा परिवर्तन, परिमार्जन गर्यौँ । पार्टनरको दोष पनि आफैले शिरोधार्य गरी दोस्त र दोस्ती जोगाउने । दुई भाइ भेट्यो कि उपद्रो मच्चाउने, बराल्लिने प्रक्रियाले हाम्रो दोस्ती तारो बन्दै गयो घरपरिवारबाट । बुवा, आमा, दाजु, दिदी, काका, मामा सबै पो शत्रु भए बा.. ! के पो गर्ने ? बाल्यकाल देखिको पार्टनरसिप फुटाउने हिम्मत पनि भएन । त्यसैले बिरोधीहरुको आँखामा धुल छर्किने रणनीति सहित यस्तो नयाँ विधान निमार्ण गर्यौँ । यो रणनीतिअनुसार आ–आफ्ना घरमा गएर यस्तो प्रवचन दियौँ— ‘मेरो दोस्त दुनियाँका सम्पूर्ण सद्गुणहरुले अटसमटस भएको व्यक्तित्व हो । यस्तो किसिमको सत्सङ्ग बडो भाग्यले मात्र भेटिन्छ ।’ यसपछि हाम्रो दोस्तीमा घरपरिवारबाट तगारो हाल्ने काम गरिएन ।

छ सात वर्ष पहिलेको होलिमा भएको घट्ना यसको उदाहरण हो । होलि त्यसै रमाइलो, रंगको पर्व । त्यसमा पनि हामी उरन्ठेउलाको त तरुनीलाई पिच्कारी, लोला, हान्ने र भाङको लड्डु खाने स्वतन्त्रताले उत्ताउलिनु नौलो भएन । एउटा खटरा भटभटे थियो मसँग । भर्खरै लिएको सेकेन्डहेण्ड । रङ्गरुप हेर्दा सेकेन्डहेन्ड मात्र नभएर एघारौँ बार्हौ हेन्ड जस्तो देखिन्थ्यो । तर, सिल्ली बिक्रेताले ‘सेकेन्डहेन्ड कि सेकेन्डहेन्ड’ रटान लगाएर जितेरै छाड्यो । 

खैर छाडौँ, जे भएपनि त्यो भटभटे बडो सुफत मूल्यमा हात परेको थियो । हाम्लाई त ब्राम्हणले सित्तैमा गौदान पाएजस्तै भो, नत्र भए बीसओटा हजारमा गुडुडु दगुर्ने भटभटेको कल्पना गर्न नै कहाँ सकिन्छ र ! 

म चालक, चक्रपाणी पेसेन्जर, अब थाल्यौँ हामी सहरका गल्लीगल्ली चहार्न । ड्याङ् कि ड्याङ असङ्ख्य लोला हानियो, कतै नमज्जाले आफैँ लोलाको शिकार भइयो । रंगरुप उस्तै भा’छ । भाङ लागेर हाम्रा आँखा पनि उल्लुकाजस्ता देखिएका छन् । एकपटक त पछाडि बसेका चक्रपाणीले अलिकति उठेर खटाराको ऐनामा हेर्दा मलाई चिन्न सकेनछन् । आत्तिएर भने—‘पार्टी, हाम्रो बाइक कल्ले कुदाउँदैछ ?’

त्यो अवर्णनीय रमाइलो । साँझ पर्यो र बत्तियौं घरतिर । दौडदा दौडदै पाटपुर्जा उछिट्टेला जस्तो त्यो खटरोलाई भाङका सुरमा मैले नी कुदाउनु कुदाएँ । चक्रपाणी पिछाडीबाट ‘ए पाटी ! विस्तारै’ भन्दाभन्दै ग्रयाबिल बाटो घुम्तिमा चिप्लि त हाल्यो । दुई मिटर जत्ति घिस्रियौँ । जुरुक्क उठ्दा हेल्मेटको एक पाप्रो पर उछिटिएको । आफ्ना अगाडीको दुई दाँत टुक्रिएछन् । साथिको आखिँभौँ च्यात्तिएछ । भयानक स्थिती भयो । चक्रपाणीका आखिँभौँमा चारटाँका सिलाइ गर्नुपर्यो  । आफ्ना टुक्रिएका दाँत त उछिट्टिएर बाटाकै ग्राभेलमा कता मिसिए । त्यसको उपाय थिएन । आजसम्म पनि दुईपैसे ठुटे दाँत देखाएर हिस्सी परेको मुस्कान प्रसारण गरिरहेँछु ।  

एकातिर चक्रपाणीको हुलिया हाजमोलाको पुरानो विज्ञापनमा देखिने एकआँखे गुन्डाको झैँ भएको छ । अर्कातिर म दुइटा दाँत भाँच्चिएर मेरी बास्सैको माग्ने बुढो देखिएको छु । घरमा चिन्ता, रिस, दिक्दारी सबै प्रकट भयो तर हामीले एक अर्काको संलग्नताको सुईंको ज्यान जाला घरपरिवारलाई दिएनौँ । त्यो बेला पत्तो पाउनुभएको भए हाम्रो दोस्ती पनि खलाँस ।

हल दाँज्न मिल्ने उमेर सँगै हुर्कियौँ, काठमाडौं बसाई सँगै, बिदेशिनु सँगै र अहिले घर फर्किनु पनि लगभग सँगसँगै जस्तै भएछ । उनका कतारी अनुभव अनि मेरा दुबईका । मुड बनाएर छिेरका थियौँ कार्कीदाईको सेकुवा कर्नरमा । भट्मास चिउरा आइपुग्यो । कार्कीदाइले सिल्याइँ जोडे– ‘ला है.. बोतल रित्तिसकेछ नि । अरु दुईबोतल ल्याऊँ ?’ 
‘होस् । हुन्दिनू ।’

दुई फाँका त्यसै लगाएर निस्कियौँ हामी त्यहाँबाट । भित्र छिर्दाको मुड त अझ खराब पो भयो बाहिर निस्कँदा । म होटलमै काम गरेको थिएँ बिदेशमा पनि । हामीले पाएको सर्भिसले मन खिन्न गरायो । चक्रपाणी पनि सन्तुष्ट देखिएनन् । जे भए नि विदेशमा कडा अनुशासनमा रहेर मिनेट गिन्तीमा काम गरेका मान्छेलाई ‘चाहिन्छ खा, मन छैन जा’ भनेजस्तो व्यबहार नपच्नु जायजै हो ।

परदेश बसेर आएका दिनदेखि गाउँघरमा ठूलै हल्ला सुरु हुन्छ । फलानाले त पैसा बोरामा हाल्दा नि नअँटेर लात्तिले खाँदीखाँदी भरिया भिडाएर ल्याछ रे भन्छन्, कोही के.., कोही के... । आन्तरिक जे भए नि गाउँमा चलेको हल्लाले आनन्दित बनाउँछ । नाक फुलायो हिँड्यो । यस्तै के के सुने कुन्नि मेरा एकजना सार्है घनिष्ट मनजित दाइ हाम्फालेर आइपुगे भेट्नलाई । मेरो मात्र होइन, नाताले चक्रपाणीका पनि दाजु नै पर्छन् । हुन त नाता नजिक भएर पनि मन टाढिएका धेरै देखिन्छन् । त्यसैले मनको सम्बन्ध नै पक्को मानिन्छ । यी मनजित दाइ पनि मनको सम्बन्ध गाँस्न खप्पिसमा कहलिएका । नामै मनजित, अर्काको मनजित्ने काममा बिच्छी । भट्टिमा बस्यो साहुनी आफ्नै, किराना पसल, पान पसल, जुत्ता सिउने मोचि देखि लिएर कपाल काट्ने हजामसम्म सबैसँग मनको गाढा सम्बन्ध गाँस्थे, बिजुली गतिमा । कोठा भाडामा बस्यो, हदसे हद सात दिन खाना पकाउँथे, त्यसपछि भान्छा एउटै घरबेटीसँगै । ए गाँठे हौ ! उदेकलाग्दो कला छ दाइमा । 

अब परदेशी भाइलाई भेट्न मनजित दाइ घुँडोमुन्टो गरेर आइ नै हाले । केही बन्दोवस्ती त मिलाउनै पर्यो । छिर्यौँ कार्की दाईको सेकुवा कर्नरबाट छड्के हुँदै दोस्रो नामी होटलमा । 

‘हौ केटाहो, तिमीहरु त बाहिर गएर त एक पटक नि फोन, चिठी–पत्र केही सम्झेनौ त हौ यो दाइलाई । आफू भने यहाँ रातोदिन पिरलो भाईहरु के कसो गर्दै होलान् नि भनेर’ कुर्सि तानेर बस्दै दाइले ब्वाँसो शैलीमा आफ्नो सिल्लीअस्त्र प्रहार गरिहाले । यतिसारो भनिसके पछि त जति खाए नि पच्छ नि ।
एउटा वेटर, हाम्रो टेबुल अघि आएर ठिङ्ग उभियो अनि जर्रो स्वरले सोध्यो, ‘के हो ?’ 

कस्तो होला ! होटलमा आएका छौँ । स्वागत, सत्कार भाव त अनुहारमा पटक्कै छैन । बिहानै स्वास्नीले भुत्ल्याएर पठाए जस्तो हुलियामा छ । होइन कसरी गर्छन् यहाँकाले व्यवसाय ? बिदेशमा त गेष्ट गेटबाट छिरे देखि टाउको निहुर्याउनु पर्ने, घरबाट स्वास्नी पोइल गई भन्ने खबर सुन्दा नि सबै पचाएर ङिच्च ङिच्च हाँसिरहनु पर्ने, बोली खस्न नपाउँदै मिलिक्कै अर्डर उपलब्ध हुन्छ । एउटा मात्रै गेष्ट आयो भने पनि हगु न पादु हुन्छ ।

म त सोचमा डुबेँछुँ । मनजित दाइले अर्डर दिन भ्याइसकेछन् । अलि पर पुगेको वेटरतिर फर्किदै कराए दाइ, ‘ए भाइ, दोटा क्यान्सर पाइप पनि है, झट्टै’ । त्यस्ता झट्टैले के काम गथ्र्यो र । अरु तिनचार पटक फलाके पछि ल्याएर क्यान्सर पाइप अर्थात् चुरोट फ्यात्त टेबुलमा फ्याँकिदियो । हैन कस्तो टिमुर्किएका हुन् ? सोमत भन्ने त झिनोमसिनो पनि छैन । च्याप्प टिपेर ओठमा चेपे दाइले । वरिपरि हेर्छन् त्यो चुरोट सल्काउने जिनिस केही छैन । बोल्नु व्यर्थ छ, म उठेँ जुरुक्क । काउन्टरमा गएर आफैँ एउटा लाइटर लिएर आएँ र फत्फताउँदै दाइको ओठको चुरोट झोसिदिएँ । 

अतृप्त हामी बाहिर निस्कियौँ । मनजित दाइ ‘बुढीले दारुको सुईंको पाई भने मार्छे’ भन्दै थर्थरी काम्न थाले । काम्दैकाम्दै नजिकैको पान पसल छिरे र एक पाउच पानपराग किनेर फाँको मारे । पानपरागको सुगन्धले दारुको गन्धलाई दबाउँछ भन्ने भ्रमले ढुक्क देखिएका मनजित दाइ भुँडी सुम्सुम्याउँदै बोले, ‘केटा हो, दिराम र रियालको स्वाद सार्है मीठो तर मज्जा भन्ने कुरो चैं पान परागमा अडिएको छ ।’ 

दाइका कुराले हौसिएका चक्रपाणी पनि कुदिहाले पसलतिर । दश मिनेट हुन लाग्यो पसल अघि उभिएका उभिएकै छन् । के भएछ, झ्वाँक चल्यो हामी पनि लाग्यौँ त्यतै तिर । साहुजी मजाले भित्र फोनमा गफ्फा मार्दैछन् भुँडी ढल्काएर । अनि चक्रपाणी कहिले साहुजीको बात सकिएला र लिउँला भनेर उभिएका छन् । उसका बेकामे खित्का सुन्दै । ग्राहक त व्यवसायीका लागि देबतासमान हुन् भन्थे तर लागू भएको कहिँकतै देखिएन । गाडी चढ्यो, कन्डक्टरले कुटुम्ला झैं गर्छ, पान पसल देखि फिल्महल सम्म उहि सास्ती छ ग्राहकको । 

ग्राहकलाई अन्तिम प्राथमिकतामा पार्ने कस्तो व्यवसायिकता निर्माण हुँदैछ यहाँ ? उफ् ! पैसोको दम खुस्केको देख्ता पसिना बगाउन विदेशिएको नि ब्यर्थै लाग्यो ।

8 comments.:

Luna said...

ramro chha :)

JAY said...

कथाबाहिर वास्तविक जीवनका मनजित दाइलाई त मैले चिनेँ । यी चक्रपाणी चाहिँ को परे हँ ? कथा राम्रो छ ।

Satamedi said...

thanks didi

Satamedi said...

hau party, chharlanga chha hai.

sk said...

mangne budaa ko katha ramro chha...

suman Dhimal said...

gajab chha hai sathi, keep it up!

Sagar Basnet said...

ramro cha admin vena

seela basnet said...

katha ramro chha..kathabitraka patra chakrapadilai maile feri samjane mauka paye.Ani keep going writing.pramodsir, tapaiko naya kathako parkhaima chhu.

Post a Comment