Realtime Web StatisticsRealtime Web Statistics

अमेरिकी डायरी

निन्द्रा नलागे पनि विदाको स्वाद लिन ओछ्यानमै कोल्टे फेर्दै सुतिरहें । गाउँमा बाआमा उठेर गाइबस्तुलाई घाँस, खुँडो गरेर विहानको खाना खाएर पनि फेरी मेलापात जाने बेला भैसक्यो । आँफु भने लम्पसार छु अझै । हरेक दिन उठ्ने बेलामा बुवाले घरमा छँदा ‘सबेरै नउठ्नेले जिन्दगीमा प्रगति गर्न गार्हो छ है बाबु’ भनेको सम्झन्छु । होला पनि, खै अहिलेसम्म केही गर्न सक्या हैन ! उठेर पो के गर्नु ? मौसम परिवर्तन हुने बेला भएर होला बाहिर पनि हेरिनसक्नु छ वातावरण । रुखका रंगिन पातहरु भुँइभरी झरेका छन् । रुखहरु खङ्ग्रङ्ग ठडिएका उजाड दुनियाँ देख्दा मन झन् उदासिन्छ । भेट्नु पर्ने पनि कोही छैन । फुर्सद नै कस्को छ र ! बरु मन प्रफुल्ल बनाउनु छ भने नेपालतिर फोन गर्‍यो, हत्ते गरेर कुरा गर्छन् । बाबु, नानी के छ ?, भन्छन्, आनन्द लाग्छ एकछिन भएनी । यहाँ त मान्छे पनि के सार्हो दौडीएका हुन्, लाग्छ कि मरेपछि नि यमराजले overtime pay गर्नेछन् ।

दिउँसोतिर घरका सदस्यहरुले किनमेल गर्ने कुरो निकालेपछि पुर्याउने र ल्याउने जिम्मा मैमाथि आइलाग्यो । ठिकै छ, दिन कटाउन सजिलै हुन्छ । लिएर गएँ तर महिला पार्टिसँग सपिङ्ग गर्न भनेपछि चेत बाबा भाको छु । उनिहरुसँग सपिङ्ग गर्नु भन्दा दिनभरी डोकाको डोका मल बोक्न सजिलो लाग्छ । यहाँ त कसैको काम भनेकै एउटा छुट्टिमा किन्ने र अर्को छुट्टिको दिनमा फिर्ता गर्ने अनि मेरो जिम्मामा यातायात व्यवस्थापन । पहिले पहिले त म पनि सँगसँगै जान्थेँ किनमेल गर्न तर पछिपछि दिक्क लाग्न लाग्यो । त्यसैले आजपनि सपिङ्ग मलको ढोकैमा खर्चधारीहरुलाई उतारेर म चाहीँ पार्किङ् लटमा गएर पर्खि बसेँ । आजकाल मलाई प्रदिपराज पाण्डेको गित मन पर्न थालेको छ । खास भन्नु पर्दा मैले सुनेकै भर्खर हो अनि सुनेको दिन देखि रिप्ले गर्या गर्यै छु । “थाहै थिएन दिल, आगो बिना नै जल्दो रहेछ” घन्काएर गितमा डुब्दै थिएँ । मेरो छेवैमा पार्क भएको कार भित्र एउटी अधबैंसे उमेरकी गोरेनी मेरो गितको भाब बुझे झैँ गरी उदासिन देखिन्छिन् । टाउको स्टेरिङमा झुकाएर घरीघरी मुन्टो बटार्दै उसैलाई चिहाउँछु । हेर्दाहेर्दै ऊ त साँच्चैको ड्वाँड्वाँ रुन थालीन् । म त अक्क न बक्क भएँ । गित पनि सकिएर अर्कै बज्न थाल्यो । निकैवेर रोइरही । मलाई पनि कस्तो नमिठो भान भयो । गाडीको झ्यालको सिसा पनि खुल्लै रहेछन् गित सुनिन् होला भन्ने भयो तर भाषा, शब्द केही नबुझ्नेले कसरी गितको भाबमा डुबिन् होला । सायद यो एउटा संयोग मात्र हुनसक्छ । जे होस्, गोरी निक्कै भक्कानिएर बसेकी रहिछ । गाडीभित्र बसेर अघाउँजी आँसु बगाई । एक मन त लाग्यो, बाहिर निस्केर सरी भनुँ, नभए नि केही कुरा गरेर उसको अप्ठ्यारो परिस्थीतिमा केही सान्त्वनाको शब्द बोलुँ । के गर्नु इसाराले नहुने । ठाउँको ठाउँ थान्को लागेँ । भगवान साक्षि छन्, मैले केही गर्न नखोजेको चैँ होइन नी ! हाम्रो मन, हाम्रो संस्कार यसरी अरु रोएको हेरेर बस्ने कदापी होइन । एकछिनको रोदनमय वातावरण अन्त्य गरेर उनले आसुँ पुछिन् । रसिला आँखा ढाक्न कालो चस्मा लगाएर गाडी निकाल्दै आफ्नो बाटो लागिन् । मैले बजाएको गितले होइन होला, किनकी एकपटक नि मतिर फर्केर हेरेकै होइन । मन त्यसै अमिल्लियो । बिना कारण गला अबरुद्ध हुने स्थिती । केही छैन रुनु पर्ने तर हाँस्न पनि नमिल्ने कयौँ कारण आइलाग्छन् ।

यहाँ त मान्छेहरु कमजोर कहलिने डरले लुकिछिपी रुन्छन् । जिवनहरु यहाँ यसैगरी गुम्सिएका छन् अनि एकान्तमा विस्फोट भएका छन् । मान्छेहरुलाई यत्रो स्वतन्त्रता भएको यो देसमा, मनहरु चैँ किन यसरी कुण्ठित भएका होलान् ।

0 comments.:

Post a Comment