Realtime Web StatisticsRealtime Web Statistics

स्वर्गतिरको यात्रामा उक्लिएजस्तो

माइ संसारमा प्रकाशित भैसकेको छ । यहाँ अलिकति थपथाप गरेको छु ।




एकजना छिमेकी सरको सुरम्य यात्रा वर्णन शैलीले मलाई अचानक ताप्लेजुङकी पाथिभरा भेट्ने हुटहुटी चढ्यो । भाइ पर्शुरामलाई सोधें । उसले उडायो — ‘डाँडाकाँडा नाघेर पाथिभराको टुप्पोमा पुग्नु सामान्य चटक होइन दाजु । यसका लागि निकै लामो योजना बनाउनुपर्छ ।’ यसरी उसँगको सल्लाह वार्षिक योजनाको पोको बनेर कुनामा थन्कियो । यायावर प्रकृतिका अर्का दाइ जयराजलाई छुस्स योजना सुनाएँ– एकै वातमा क्या वात भो । कुरो पक्का भो ।

हामी दुई ताप्लेजुङ्गतिर अनभिज्ञ भएकाले गएर सकुशल आइसकेका जानिफकारहरुलाई फोन लगायौँ— ‘के के तयारी गर्नुपर्ला हजुर ?’ तर, अचम्मसँगले सबैको जवाफ उस्तैउस्तै आयो–‘धत् ! वर्खाको बेला पहाडी यात्रा ? बाटाभरि ड्याङ्ड्याङी पहिरो खस्दैछन् ।’ एकदुईजनाले त हदै भने– त्यता लाग्यौ भने पाथिभराको मन्दिर होइन यमराजका दरबारमा चाहिँ पुग्छौ । यो पाथिभरा जाने सिजन होइन ।’ तर हाम्रो बुझाइ अलग थियो । देवीदेवताको पनि कुनै सिजन हुन्छ र ? सजिलोमा सबै गएकै छन् नि । हामी दर्शन गरौँ अप्ठ्यारोमा । निस्कियौँ हामी यात्रामा सुटुक्क । हामीलाई थाहा भैसक्यो सल्लाहले हिड्ने सिजन होइन यो, भाग्ने सिजन रहेछ ।

दिउँसो तीन बजिसकेको थियो । दमकबाट सुरु भयो हाम्रो यात्रा । एउटा बाइक । पिछाडि जयराज बसेर यात्राभरि ठट्यौली गरिरहे । ताल बेतालमा प्यारोडि गाइरहे । ती पहाड, हरियाली, चराचुरुङ्गी, टाढाटाढा किरामिराका अनौठा आवाज मात्र । मन आनन्दित भइरह्यो ।

हर्कटेको सुन्दरतालाई नाघेर हिँडिहाल्न मन मानेन । फेरि हामीलाई हतारो पनि थिएन । त्यो रात हर्कटेमै बस्यौँ । होटलकी दिदी साह्रै फरासिली । बोलिवचन पनि असाध्यै मिठो । उनमा एक प्रकारको आकर्षण थियो । आकर्षण के मा थियो पत्तो लगाउन सकिएन । श्रीमान साथमै थिए । सायद बोलीमा थियो तर मेरा साथी जय भन्छन् आकर्षण उनको ‘अदा’मा थियो । बाहिर दर्के पानी परिरहेको थियो । बेलाबेलै झ्यालमा ठोक्किने आकाश चम्किँदाको मिलिक मिलिक उज्यालो र टिनको छानोमा बर्सिएको झरीले इन्द्रबहादुर राईको रातभरी हुरी चल्यो ।

रातिभरि परेको पानी विहान पनि रुन्चे झरी बनेर फुस्फुसाउँदै थियो । बुढापाकाले भन्थे– हिँडेको र बसेको मिल्दैन । झरीलाई सरी भन्दै रेनकोट कसेर विहानै बाटो ततायौँ । दिनभर भिजियो । कहिं बसौं त पानी रोकिने छाँटकाँट छैन कत्तिबेर कुर्नु । रेनकोट लगाएको के छेकिन्थ्यो ? आधा घण्टामा ल्याफ्फै । त्यो पहाडी सिरेटोले मुटुछेड काव्य बनाइहाल्यो । हुस्सुले दिउँसै मध्यरात पार्ने रहेछ । एकमिटर पर्तिर मर्दा केही देखिन्न । कस्तो फसाद ! राँकेबजार पनि हुस्सुले ढाकिएको रहेछ । हामीले त्यही खाना खायौँ ।

फिदिममा एउटा पसलअघि ओत लागेका थियौँ । हामी पाथिभरा हिंडेको सुन्दा उनीहरु छक्कै परे । पहिरो, हिउँ र जुकाको कुराले सारहै डर देखाए । फिदिम कटे पछि भने झरी केही मथ्थर भयो । आकाश उज्यालियो । लगातारको वर्षाले धेरै पहिरो गएका थिए । कतै जाँदै थिए त कतै बाटाकिनार र भीरतिर धर्ती चर्किएर धस्किन ठिक्क परेका । लाग्छ कि अर्को झरीको पर्खाइमा छन् ।

कावेली खोलो तरयौँ, पुल बाटै । अलि अगाडि माथिबाट ढुङ्गो खस्दै गरेको देख्यौँ । पछाडि जय कराउँछन्, “ढुङ्गो झर्दैछ, चाँडो कुदाऊ” । मेरो पनि सातो उड्यो । बाइकलाई के मतलब ! ठस्ठसी कन्दै उक्लदै छ बिस्तारै । बचियो केही भएन । एकदमै संसकित र आतंकित हुँदै झमक्क साँझ पर्दा ताप्लेजुङ्ग बजार पुग्यौँ । ए ! ए ! एउटा रमाइलो क्षण त झण्डै छुटेछ । ताप्लेजुङ्ग पुग्नु पन्ध्र किलोमिटर जति अघि बाटोका छेउमा आँपका गाछी देख्यौँ हामीले । पाकेर बाटोभरी झरेका । बोटमा पनि लटरम्म । मोटरबाइक बाटो छेउमा रोकेर एकदुई वटा आँप खायौँ । मगमग बासना आउने तर बजिया अमिला । भिजेर निथु्रक्क भएपनि, पहिरोले त्रसित बनाए पनि त्यहाँको स्वच्छन्द हावा, प्राकृतिक रमणीयता र हाम्रो स्वतन्त्रताले साहसिक यात्राको रोमान्चक अनुभूति गर्दै थियौँ । अझ म त एउटा हलिउड फिल्मको याद गर्दै थिए । ‘क्युरिअस केस अब् बेन्जामिन बटन’ हिरो ब्राड पिट बुलेट बाइक लिएर धेरै दिनका लागि विन्दास यात्रामा निस्कन्छ । निस्फिक्रि, बेपर्वाह यात्रा । म त्यही ब्राड पिट । साथी जयराजलाई भनिन । ‘म ब्राड पिट, म ब्राट पिट’ भन्लान् । यात्राको दोश्रो रात ताप्लेजुङ्गको जरा लजमा ।

तेश्रो दिनको यात्रा शुरु भयो । सुकेटारसम्म बाइक जान सक्ने रहेछ । हिउँदमा तल्लो फेदीसम्म पुग्छ रे तर हामीलाई हिंड्न पनि गारहो भयो बाइकको के कुरो ! सुकेटारमा खाजा खायौँ र मच्चिन सुरु गरयौँ । ज्यान सारहै कुँजिएछ । हिंडेको पन्ध्र मिनेटमै पानी खोज्नु पर्ने स्थिती भयो । जस्तोसुकै त्रासदी र कठिनाई भोगे पनि हामीले आड पाएका थियौँ । यो आँट, यो साहस देवीको दर्शन गर्न हिडेकाले पाएका हौँ भन्ने आस्था थियो । बाटोमा बेलाबेला भेटिने स्थानीयलाई अब कति हिंड्नु पर्ने भनेर सोध्ने गथ्र्यौँ । करिब चार घण्टा कस्सिएर हामी तल्लो फेदी पुग्यौँ । खाना खायौँ । डेढ घण्टाको अलमलपछि फेरी उकालो यात्रा सुरु भयो । यहाँ देखि अलि ठाडो उकालो थियो अनि ढुङ्गा बिछ्याएको साँघुरो गोरेटो । मलाई चैँ लेक लाग्ने डरले ‘साइको’ दिँदै थियो । खाना खाने ठाउँमा अदुवाको टुक्रो मागेर खल्तिमा राखेको थिएँ । उकालोले स्याँस्याँ भएनि डरले अदुवा टोकिहाल्ने । जय भने निक्कै कन्फीडेन्स देखिन्थे । म पोहोर साल हेलम्बुमा पैंतीस सय मिटर चढ्दा त केही भएन यो जाबो पच्चीस सय । आफू त पहिलो पटक हिंडेको, सुनिरहेँ उनका ख्याकी गफ । होटलकी दिदीले दुई घण्टामा माथ्लो फेदी पुगिन्छ भन्थिन् । हामी साढे तीन घण्टा हिंड्दा पनि फेदी भेट्न गाह«ो परयो । बाटोभरी निकै देउराली भेट्यौँ । ढुङ्गो चढाउँदै हिड्दै । बाटाछेऊ र मास्तिर भीरतिर फाट्टफुट्ट चर्दै गरेका गाइवस्तु र बाख्रापाठा देखिन्थे । ती चौपायाका बीचको समानता भने अचम्मको थियो । प्रत्येक बाख्रोपाठो र गाईगोरुको जिउमा रगतले ढाडिएका जुकाहरु टाँसिएका देखिन्थे । मनैमन सोचेँ –‘प्रभु, कुनै जुनीमा पनि लेकका वस्तु हुनुनपरोस् ।’ जुकोले चुस्ला भनेर बाटा छेऊ टेक्तै टेकेनौँ । बीचमा छापेका पहाडी चेप्टे ढुङ्गैढुङ्गा हिँड्यौँ । ठूलो संयोग हो, ज्यानमा एउटै जुको टाँसिएन । संयोग नमान्दा, जुकाले नभेट्नुको क्रेडिट उनै पाथिभरालाई ।

बल्लतल्ल लहरै आठदश वटा घरहरु देखिए । माथ्लो फेदी आइसकेछ । साँझको ६ बजिसकेको थियो । आजै माथिपुग्नु अलि कठिन लाग्यो । एउटा होटलमा बस्यौँ माथ्लो तल्लामा । पहाडका चिसा दाउरा । मुस्लीमण्डल धुवाँले आँखा पीरा भए । निन्द्रा नपरेसम्म सास फेर्न अप्ठ्यारो भइरह्यो । यात्राको तेश्रो रात माथ्लो फेदीमा ।

विहानै धारामा ठिहीरयाउने पानीले सातो लियो । टुप्पिदेखि पैतालासम्म हरे ! राम, हरे ! राम भन्दै पानीका थोपाले चोखो भयौँ । लाग्यौँ अझ ठाडो उकालो । बाटोमा मान्छे रातो टिका लगाएर बुथ्रुक बुथ्रुक तल ओर्लेको देख्दा हामी नि कहिले दर्शन गरेर यसरी नै फर्किनु जस्तो लाग्थ्यो । हामी दुबै अपरिपक्व र बहुलठ्ठी रहेछौँ जस्तो लाग्थ्यो । यत्तिका दिन लाग्छ होला । यत्ति कठिन होला भनेर सोचेकै थिएन । घरीघरी आधा बाटो बाटै फर्किऊँ कि जस्तो हुन्थ्यो । झरी र पहिरोले सातो लिंदा भालुको कन्चट समाए जस्तै भएथ्यो । फर्किऊँ देवी दर्शन भाकलको डर । नफर्किऊँ अगाडि के आपत आइलाग्ने हो । यात्राका सबै कठिनाइ भगवानले लिएको परीक्षा सम्झ्यौँ । पास गर्नुपर्ने संकल्पले पछाडि हट्न दिएन । अगाडि बढिरह्यौ । ठस्ठस् कन्दै दुई घण्टा उकालो चढेपछि घण्टाको आवाजले मन चंगा भयो । अघिसम्म ढुङ्गा भएको ज्यान हलुंगो भुवा भयो । फुर्तिले दौड्यौँ ।

त्यो हुस्सुले ढाकेको टाकुरामा, खुल्ला आकाशमुनि सौम्य मुद्रामा बसेकी देवी देखेर हामी खुसीले त्यत्ति लामो र कठिन यात्रालाई भुसुक्क बिर्सियौँ । हैन के अचम्म ? कस्तो संसार जिते जस्तो भान भएको । मान्छेहरु चन्द्रमामा टट्टी गरेर फर्किसके । यति आइपुग्दा हामीलाई के के न बहादुरी गरयौँ जस्तै भयो । सगरमाथाको चुचुरोमा झण्डा फहराए जस्तै सफलताको अनुभूतिले गद्गद् भएर पाथिभरा परिसरका मुर्तिहरु ढोग्न थाल्यौँ ।
मैले हात जोडेर मनमनै केही सम्झिएँ । जय पनि गुनगुनाउँदै मन्दिर परिक्रमा गरे । दर्शन सकियो । वर डिलमा आइपुग्यौँ । दुबै चुपचाप । केही मलिन भयौँ दुबैजना क्षणभर । जयतिर हेरेँ । त्यत्तिका लामो र कठिन बाटो संझेर होला उनका आँखामा अन्योलका प्रश्न थिए, “अब कसरी फर्कने ?” सायद उनि पनि मेरा आँखामा त्यस्तै पढ्दैथिए । सन्नाटा छिचोल्यो खिस्स हाँसोले । लाग्यौँ ओरालो–बुथ्रुक...बुथ्रुक... ।























0 comments.:

Post a Comment