Realtime Web StatisticsRealtime Web Statistics

लोकल स्वादको खोजी


घरेलु वातावरण र गाउँले स्वादको लागि आजकाल जमघट बढ्न थालेको छ खगेन्द्र दाइकोमा । झापा पाडाजुँगी चोकबाट एक किलोमिटर दक्षिणमा उनको चिटिक्कको घर छ । आँगनपर्तिर आँप, कटहर, लिचि र अरु पनि थुप्रै हरियालीका बीचमा उस्तै चिटिक्कको खानेपिउने कटेरो बनाएका छन् उनले । स्थानीय स्वादको तृष्णा बोकेर उनीकहाँ आउनेले लोकल कुखुराको सेकुवाभुटुवा मात्र होइन, बगैँचामा फलेका मौसमअनुसारका ताजा–रसिला फलफूल पनि आफ्नै हातले टिपीखान पाउँछन् । 

“आजकाल शान्त प्राकृतिक वातावरणमा रमाएर ताजा र स्वास्थ्य परिकार पाइने स्थान असाध्यै कम छन् । आफ्ना साथिभाइसँग त्यस्तै उचित स्थान खोजी गर्दा नपाए पछि मैले यतातर्फ लाग्ने सोच बनाएँ ।” उनले भने ।

दिनभरिको दौडधुप, थकान, सहरको धुलो, प्रदुषण, सडकको चर्को ध्वनि, राजनैतिक, सामाजिक दिक्दारी यी सबै कुराबाट टाढा रहेर एकछिन भएनि मुडफ्रेस गराउने चाहना हामी सबैमा हुन्छ । शान्त प्राकृतिक वातावरण, वरिपरि बगैँचा, चराचुरुङ्गीका आवाजसँगै रमाएर बस्नुको आनन्दै अर्कै हुन्छ । छुट्टीका दिन परिवार, साथीभाइसँग मौसम अनुसारका फलफूल, तरकारी, सिलौटामा पिँधेको टमाटर र धनियाँको चटनी, काँचो आँप कुटेर बनाएको थेबे अचार, मुला र सिन्कि अचारका साथमा मन परेका पेय पदार्थ लिँदै जिब्रो फड्कार्ने मौका मिल्नेछ यहाँ ।

आजकालको झन्झटिलो दैनिकीबाट क्षणभरलाई भएनि अलग रहेर बस्न सबैको मन हुन्छ । सहरमा जसरी पश्चिमा शैलिको पछाडी भाग्ने जमात बढ्दो छ, उसैगरी सहर शैलीबाट गाउँले परिवेश खोज्दै भाग्नेहरुको संख्या पनि बढ्दो छ । सहरका मःम, पिज्जा, बर्गरमा मात्र भिँड होइन, कन्यामको साँधेको मकै, किच्चकबधको पोखरीका माछा, पाडाजुँगीको आँपको थेबे, सिन्किको अचार अनि पथरीको बंगुरको कानफ्राइमा पनि उत्तिकै झुम्मिएका देखिन्छन् लोकल स्वादका पारखीहरु ।


यहाँ अब राम्रा, सुबिधा सम्पन्न अनि अन्तराष्ट्रिय स्तरका परिकार उपलब्ध भएका होटल, रेष्टुराँहरुको कमी छैन । तर आम मानिसको चासो गाउँघरका स्थानिय उत्पादनहरुप्रति बढ्दो छ । एकताका हाम्रा पुराना पुस्ताहरुका लागि बाध्यता बनेको ढिडो, गुन्द्रुक अहिलेको पुस्तालाई रहर बनेको छ । माइ खोलामा पौडी खेल्दै खोलाका किनारामा बनेका छाप्राहरुमा पाइने त्यही खोलाका माछा, पिपलका फेदमुनि राखेका मुडाहरुमा बसेर छेउछाउका हरिया डाँडा, बग्दो पानीको कुलुलु ध्वनिसँगै लोकल कुखुरा र बंगुरका परिकारका स्वाद लिनेहरुको पनि ठूलै हुल देखिन्छ । राजधानीमा पनि त्यहीँका सुविधा सम्पन्न होटलहरुलाई वेवास्ता गर्दै कहिले नगरकोट, कहिले ककनी धाउनेहरुको कमी छैन । बन्दिपुर, घान्द्रुक, दक्षिणकाली जंगल, चोभार पाखा, धुलिखेल, घलेगाउँ पुगेर त्यहाँको लोकल परिवेसमा नियमित रमाउनेहरु धेरै भेटिन्छन् । 


मोरङ्गको मंगलबारेबाट झण्डै तीन किलोमिटर दक्षिण एक सिमसार छ । जंगलको बीचमा पोखरी अनि वरिपरि तोङ्बा, बंगुर र राँगाका परिकार । पौडी र लोकल खानपिनको मज्जा अनि प्राकृतिक सौन्दर्यले त्यहाँको चर्चा दिनहुँ बढ्दै छ । दुई वर्षदेखि त्यही व्यवसाय गर्दै आउनु भएकी नरमाया दिदिले अरु दिन सामान्य भएपनि छुट्टिका दिनहरुमा इटहरी देखि धुलाबारीसम्मका मान्छेहरु धाएर रमाइलो गर्न आउने बताउनुभयो । पट्यारिलो एकनासे दैनिकी, सहरी होहल्ला र प्रदुषण, झन्झटिलो कामकाज, असिमित राजनैतिक किचलो, देशको अन्योलता र नैराश्यताबाट जोगिन आजभोलि गाउँले परिवेश र त्यहाँको लोकल स्वादको खोजि गर्नेहरुको संख्या बाक्लिदै छ ।



0 comments.:

Post a Comment