Realtime Web StatisticsRealtime Web Statistics

उर्लियो मन

माइ संसारमा २०६५ असोज २१ गते प्रकाशित ।

रातको ११ बजेर २० मिनेट जति भएको छ। कोठामा दम्पति भएर पनि एक्लो महशुस गरिरहेको छु। किनकि उनी सुतिसकिन्। कोठाको मधुर प्रकासमा म एक्लै भूइँमा बसेर घोत्लिरहेछु, उकुसमुकुस भावनाहरु लिएर। मलाई आतस छ, आतुर छु, मेरा भावनाहरु, मेरा मनका उकुसमुकुसहरु एकैपटक यो सादा पानामा घोप्टिए हुन्थ्यो तर कहाँ सम्भव छ र यी सब कुराहरु ? मैले त विस्तारमा भाका मिलाएर पाठकलाई रमाइलो लाग्ने किसिमले व्यक्त गर्नु जरुरी छ, किनकि उनीहरुको प्रतिक्रिया नपाई मैले कसरी सन्तुष्टि पाउने ? ढाडस पाउने ? त्यसैले यो सादा पानामा म घोप्टिएर रोए पनि, आँसुहरुले लतपत भएपनि यो दृष्यको अनुभूति गर्ने म बाहेक अरु को नै हुन्छ र ?

कम्प्युटरमा बजेको पीडादायी गीतले अझ मेरो मुटुको धड्कन बढाउँदै जान्छ। आज अलिकति बियर पनि पिएको छु। सायद त्यसैले होला, मनभित्र झनै पीडा बढेको अनुभव हुन्छ। हुन त दिउँसैदेखि मलाई त्यत्ति रमाइलो लागेको थिएन। अफिस विदा भै सकेकोले दिनभर आफ्नै व्यापार (साइबर र कम्युनिकेसन) मा नै बिताएँ। ग्राहकहरु आउने क्रम पनि पातलो हुँदै थियो। म यसपालि ढुक्क थिएँ। कोशीले गरेको विनाशका कारण धेरै नै पूर्वका मान्छे रोकिन्छन्, काठमाडौंमा एक्लो महशुस गर्नुपर्ने छैन। धेरैले त आश्वासन पनि दिएका थिए, गफमा गफ पनि मिलाएका थिए, “ए… तिमी पनि नजाने, म पनि जान्न यसपालि, ल ल मज्जाले मनाउनु पर्छ” म पनि ढुक्क थिएँ। तर अहिले त उनीहरु नै पहिला पुगेछन् घरतिर।

खिन्नता झनै बढेर आउन थाल्यो। दशैं झनै नजिकिंदै छ। पुराना दिन र बितेका दशैं सम्झ्यो भने त झनै भक्कानो फुट्ला जस्तो हुन्छ।

शीला (मेरी श्रीमति) ले केही अप्ठ्यारो मान्दै कोल्टे फेरी। अहो ! चुरोटको धुँवाले कोठा डम्म भएछ, फेरि झ्याल, ढोका सबै बन्द। हतार-हतार झ्याल खोलें। फेरि उसको गाली खाएर आफ्नो ध्यान भङ्ग नहोस् भनेर सुरुमै होसियारी अपनाएँ। निन्द्रामै कराउँदै थिइ, बत्ती बालेर निन्द्रा परेन रे। उसको पारा देखेर खिस्स हाँसे, सोच्न थालें, उसलाई ढुक्क छ, केही, कसैको पिर छैन, सबै कुरा ममा निर्भर छ र घुम्न जाने प्लान बनाएर मख्ख छे। ऊ त मेरो भरमा, म कसको भरमा परुँ ? मैले बल्ल बुझ्न थालें, म सानो छँदा मेरा बुबाआमा दशैंमा किन रमाउनु हुन्नथ्यो ? खुसी हुनुहुन्थ्यो ? यस्तो रमाइलो चाड, वर्षमा एकचोटी आउने, त्यही पनि कति रुखा बा-आमाहरु, विजयादशमीको दिन हतार-हतार टीका लगाएर धान काट्न पनि भ्याउनु भएका क्षणहरुले मलाई झन् भावविह्वल बनाउन थाल्यो। यसपालि टीकाको दिन बुबाहरु धान काट्दै गर्दा म साइबर खोलेर ग्राहकको प्रतीक्षामा बसिरहेको हुन्छु। ठाउँ फरक, परिश्रम फरक, तर मनको कथा व्यथा त उही हो नि।

कुकुरहरु बाहिर ज्यादै भुक्न थाले। झण्डै बाह्र पनि बज्न लाग्यो। झ्यालबाट बाहिर चिहाएँ। चारैतिर अन्धकारको राज, केही डर-डर लाग्यो। आ…… भोलि उठेर लेख्छु तर फेरि सोचें-कहाँ … ! जुनै बेला पनि यस्तो भावना कहाँ उर्लिन्छ र ! फेरि बसें।

पोहोर दशैं म अहिले पनि झल्झलि सम्झन्छु। हुन त पोहोर पनि घर जाने पक्का थिएन। मन मारेर बसेको थिएँ। दशैं जति-जति नजिक आउँछ, त्यति-त्यति पेट पोल्न थाल्छ। पुराना साथीभाइ, घरपरिवार, बा-आमा सम्झेर टाढा क्षितिजतिर हेर्दै क्वाँ-क्वाँ रुन मन लाग्छ। मन थाम्न सकिनँ। ऋणपान गरेर घरतिर लागेँ। वास्तविकता कसलाई भन्नु छ र ? खुबै रमाइलो भयो। परदेशबाट कमाएर आएको छोरो, साथी अनि त्यस्तै-त्यस्तै नाताहरु। अहिले पनि म सम्झिरहेछु। मेरो बुबा आजीवन तास, जुवा, जाँड रक्सी भनेपछि तीन हात पर भाग्ने मान्छे पोहोरको दशैंमा मेरो रहर देखेर घरको आँगनमा गुन्द्री र चकटी ओछ्याइदिएर आफैंले तास खेल्ने ठाउँ बनाइदिनुभएको थियो। अहो ! मासु चपाउँदै तास खेल्न पाउँदाका क्षणहरु साँच्चै नै रमाइला थिए। त्यो सम्झेर म कसरी आफ्नो मन थाम्न सकुँला…।

खासमा म पनि घर जान त सक्थेँ तर त्यही त हो नि बाध्यता। पोहोर दशैं मनाएको कर्जा अहिलेसम्म चुक्ता गर्न सकेको छुइनँ। फेरि अमेरिका जाने सपना देखेर हालसालै २ लाख डुबाएर बसेको छु। अनि म के मुख लिएर घर जाऊँ ? मान्छेले अनगिन्ती हण्डर र ठक्कर खाएपछि जीवनको परिभाषा बुझ्न थाल्छ। मलाई पनि त्यस्तै नै भएको छु। जीवनको बारेमा त अर्कालाई दर्शन दिन पनि पछि पर्दिन। तर आ-आफ्नो खप्पर न हो, कहिले उदाउँछ अनि कहिले अस्ताउँछ, केही थाहा नहुने …।

म आफ्नै देशमा रहेर पनि पराई अनुभव गरिरहेको छु। हुन त यो दशैंको बेला काठमाडौंमा साँच्चै नै अजिबको सन्नाटा छाउँछ। झनै विभिन्न बाध्यताले विदेशिनु भएका हाम्रा कयौं नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई आफ्नो देश, परिवार, आफन्त र महान चाड दशैं सम्झेर कति गाह्रो भएको होला। अहो ! कल्पना गर्दा पनि गाह्रो हुन्छ। यस्तै-यस्तै कुराहरु सम्झेर चित्त बुझाउँछु।

ल त, सबै नेपालीहरुलाई बडादशैंको शुभकामना। जहाँ, जसरी रहनु भए पनि आफ्नो चाड सम्झेर खुसीसाथ मनाउनुहोस्। यहाँ मेरो एक्लो भावना, अनुभूति मात्र प्रस्तुत गरिए पनि यो कयौं घर छाड्न बाध्य नेपालीहरुको मनको कथा हो। यस अनुभूतिले सबैको प्रतिनिधित्व गरेको छ।

अन्त्यमा, अन्दाज गर्न सक्नुहुन्छ, षष्ठिको दिनमै मनमा यति वेदनाहरु उम्लिएका छन्, यसपालिको दशैं कसरी मनाउँदैछु भनेर।

0 comments.:

Post a Comment