Realtime Web StatisticsRealtime Web Statistics

सडकका अन्योल जीवनहरु

माइ संसारमा २०६५ कार्तिक ७ गते प्रकाशित ।

Source: acr.hrschool.org

उनीहरुको वासस्थानमा म बेलुकी आठ बजे तिर पुगेको थिएँ, नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडिको सडक पेटीमा। यात्रुवाहक गाडीहरु सडकमा पातलिंदै थिए र पसलहरु पनि बन्द हुने सुरसारमा थिए। करिब १०–१२ जना केटाहरु सडक बत्तिको उज्यालोमा धेरै ठाउँमा टालेको बोरा, कपडा ओछ्याएर हाँसोठट्टा गरिरहेका थिए। सबै आ–आफ्नै धुनमा व्यस्त– कोही शरीर, कपाल कन्याइरहेका, कोही दिउँसोका घटनाहरु साथीलाई सुनाइरहेका अनि कोही भने दिनभरी बटुलेका फोहोरका सामाग्रीहरु छरपष्ट पारेर केलाइरहेका । चर्को आवाजमा तँ–तँ र म–म गरी जिस्कने र चल्नेहरुको पनि कमी थिएन। म केही बेरसम्म नजिकैको बिजुलीको खम्बामा अढेस लागेर उनीहरुको क्रियाकलाप नियालिरहें। त्यत्तिकैमा तिनै मध्येको एउटाले उसको साथीलाई कोट्याएर मतिर औंल्यायो। अनि सबै खासखुस गर्दै सतर्क भए झैं गरे। भूईंमा छरिएका प्लाष्टिक, फलाम, कुच्चिएका बट्टाहरु र थोत्रा जुत्ता, चप्पल हतार–हतार बोरामा थन्क्याउन थाले।

म चकित परें तर पछिमात्र थाहा भयो, उनीहरुले दिनभर मिहिनेत गरेर जम्मा गरेका सामानहरु, थोत्रा सामान बेचेर, मागेर जम्मा गरेका पैसाहरु केही फटाहाहरुले लुट्ने गरेको रहेछन्। त्यही भएर त्यो अँध्यारोमा मदेखि पनि त्यसरी तर्सिएका। म उनीहरुको छेवैमा गएँ, आफु को हुँ र उनीहरुलाई भेट्न आउनुको कारण बताएँ। उनीहरु मलाई बेवास्ता गरी आ–आफ्नै सुरमा लागे। म अकमक्क भएँ । कारण के रहेछ भने विभिन्न संघसंस्थाका ब्यक्तिहरु र पत्रकारहरुले उनीहरुलाई धेरै सोधपूछ गर्ने अनि अनावश्यक आश्वासन देखाएर दिक्क बनाइसकेका रहेछन्।

म त एकछिन अलमल्ल परेर उभिरहें।
Source: volunteersummernepal.org

केही बेरपछि छेउमा बसेको भाइलाई सोधें–“बाबु! तिम्रो नाम के हो?” उसले आफ्नो नाम विशाल श्रेष्ठ बतायो। त्यसपछि खाजा ख्वाउने प्रलोभन देखाएर उसले घर छाड्नुको रहस्य खोतल्न थालें। उसले अगाडि भन्दै गयो–“मेरो बुवाको घर भक्तपुरमा छ। आमा पागल हुनुहुन्छ र बुवा बिजुलीको काम गर्नुहुन्छ। मेरो एउटा भाई छ। ऊ बुवासँगै बस्छ। म अहिले एघार वर्षको भएँ र घर छाडेको एक वर्ष हुन लाग्यो। बुवाले घरमा सार्‍है पिट्नु हुन्थ्यो। जहिल्यै पनि रक्सी खाएर पिट्नु मात्र हुन्थ्यो। कहिलेकाहीं त करेन्ट समेत लगाइदिनुहुन्थ्यो। म दुईमा पढ्थे। मेरो साथीले पनि मलाई भागौं भन्यो अनि घर छाडेर यहीं बस्न थालें। अहिले दिउँसोभरी प्लाष्टिक र अरु फोहोरका सामानहरु जम्मा गर्छु, बेच्छु, मानिसहरुसँग पैसा माग्छु र खानेकुरा किनेर खान्छु।” एकछिन रोकियो अनि मेरो अनुहारतिर पुलुक्क हेर्दै भन्यो–“दाइ सबै कुराहरु भनिसकें अब खाजा ख्वाउने होइन?” यी सबै कुरा उसले खाजाकै लागि भनेको थियो। अरु त उसलाई कुनै कुराको मतलब नै थिएन। मलाई उसका साथीहरुको बारेमा पनि जान्न उत्सुकता जाग्यो र सबैलाई नास्ता खुवाउने कुरा गरें र नजिकैको होटलमा लगेर समोसा, पुरी, तरकारी र जेरी किनिदिएँ। सबैको अनुहार हँसिलो थियो। आफ्नो अगाडि अघाउँजी खानेकुरा देखेर। कालु मगरले उसको जिंग्रिङ्ग परेको कपाल बेस्सरी कन्यायो। उसको खानेकुरामा कपालको धुलो र चायाहरु बर्सिरहेको थियो अनि जिउ कन्याएर, फोहोर बटुलेर नङ्गभरी कालो मैलो जमेको हात एकपटक पिलिक्क हेर्‍यो र जेरी च्याप्प समाति चपाउन थाल्यो।

उनीहरुकै बीचमा कापी–डटपेन लिएर म पनि बसें र सबैलाई अनेक जिज्ञासाहरु राख्न थालें। त्यत्तिकैमा दोलखा घरबाट भागेर आएका १० वर्षीय भाइलाई पनि भेट्टाएँ। सुजन धिमाल नाम गरेका उक्त बालक पाँच कक्षा पढ्दा–पढ्दै काठमाडौंको रमझमका कथाहरु सुनेर अनि राजधानि छिरेका गाउँका दाइहरुलाई भेटिने आशामा भागेर आएका रहेछन्, चार–पाँच दिन अघिमात्र। यत्तिको ठूलो र घुँईचोको सहरमा उनी आएको दिन साँझ परिसक्दा पनि आफुले खोजेको दाइहरु नभेटिए पछि यिनै साथीहरुलाई नयाँबानेश्वरमा भेटेछन्। अहिले उनी पनि तिनै साथीहरुसँग दिउँसो प्लाष्टिक बटुल्छन्, बेच्छन् र पेट भर्छन्। धेरै छाक त उनीहरु बिस्कुट, चाउचाउ र पाउरोटी खाएर टार्छन् र कहिलेकाँही मात्र खाना खान्छन्, पैसाको अभावले।

Source: sfgate.com

खाजा खाइसकेर तिनीहरुसंगै म पनि अघिकै ठाउँमा फर्किएँ। कोही पल्टेर चुरोट सल्काउन लागे र कोही सल्काएको चुरोट माग्नलाई हात बढाउन। त्यत्तिकैमा एउटा भाइले पोलिथिन निकाल्यो र त्यसभित्र एउटा बट्टाबाट केही खन्याई नाक लगेर बेस्सरी सुँघ्न थाल्यो। मलाई कौतुलहल लाग्यो र अर्को उसको साथीलाई सोधें। त्यो त एक प्रकारको नशा पो रहेछ। डेन्ड्राइट, फेभराइट र सुलोसन आदि–आदि प्रकारका जुत्ता, चप्पल टाँस्न र ट्युब टाल्न प्रयोगमा आउने गमहरु सुँघेर नशामा झुम्दा रहेछन्। त्यहाँ भएका सबै नशा तान्ने शुरमा थिए र दोलखाबाट भर्खर आएका सुजनले पनि सिक्ने तर्खर गर्दै थिए। मैले यसो गर्नुको कारण सोध्दा इन्द्र तामाङ्ग नाम गरेका एक जना भाइले दिउँसो भरीको थकाइ मेट्न, निन्द्रामा गाडीको झर्कोबाट बच्न, भोक लागेको थाहा नपाउन र मिठो सपना देख्न ति नशाहरु सुँघ्ने गरेका बताए।

रात निकै बितिसकेको थियो। लगभग साढे नौ बजिसकेछ। सडकमा फाट्टफुट्ट कार र मोटरबाइक बाहेक केही चलेका थिएनन्। उनीहरु सुत्ने तर्खरमा लागेकाले म पनि मन नलागी–नलागी कोठा फर्कन खोजें तर अझै उनीहरु प्रतिको कौतुहलता मेटिएको थिएन। त्यसैले भोलि बिहान उनीहरु उठेर काममा हिंड्ने समय सोधें र सडकको किनारामा थोत्रो बोरालाई डस्ना र सिरक मानेर गुडुल्किएका बालकहरुलाई छोडि केही पर पुगेको मात्र के थिएँ, पछाडिबाट केही खल्लिबल्लि आएको सुनें, फर्किएर हेरें। केही फटाहाहरुले तिनीहरुको दिउँसो भरि लगाएर जम्मा गरेका सामानहरु खोसिरहेका थिए र “पैसा निकाल” भनेर धम्क्याउँदै थिए। मलाई ति बालकहरुको दया नलागेको होइन तर त्यहाँ गएर केही गर्न सक्ने साहस पनि ममा थिएन। त्यसैले गह्रुङ्गो मन लिएर आफ्नो कोटेश्वर स्थित कोठा हिंडेरै पुगें। तिनीहरुकै बारेमा अनेक तर्कना गर्दागर्दै कतिखेर कोठा आइपुगें, पत्तै भएन। उनीहरुले विहान मलाई साढे चार देखि पाँच बजे भित्रको समय दिएका थिए भेट्नको लागि। म आफ्नो घडीमा चार बजेको घन्टी मिलाएर ओछ्यानमा पल्टिएँ। उनीहरुकै बारेमा सोच्दा–सोच्दै अनि दिनभरीको हिंडाइको थकानले गर्दा भुसुक्क निदाएँछु। बिहान धेरैबेर टेबुलमा रहेको घडी कराइरह्यो। बाहिरको जाडो सम्झिएर ओछ्यानबाट उठ्नै मन लागेको थिएन तर ति बिचरा बालकहरुको हालत झनै कस्तो होला? अझ बेलुकी भएको लुटपाट सम्झिएर जुरुक्क उठेर हिजो बेलुकीको ठाउँमा पुगें। झन्डै पाँच बजिसकेछ। मान्छेको चहलपहल बढ्दै थियो, पसलहरु धमाधम खुल्दै थिए अनि बेलुकी थन्क्याएका गाडीहरु सडकतिर ओतार्दै थिए। हिजो ति बालकहरु सुतेको ठाउँ नियाल्दै म हिंडिरहेको थिएँ, परैबाट मैले देखें, पुलिसका लाठीहरु तिनीहरुको बोरा भित्र गुडुल्किएको शरीरमा जहिंतहिं बर्सिंदै थिए। कोही आँखा मिच्दै पर–पर पोकाहरु काँधमा बोकेर चिच्याउँदै दगुर्दै थिए।

उनीहरुले मलाई देखे अनि भेट्ने इच्छा पनि गरे झैं लाग्थ्यो तर पुलिसको डरले भाग्न बाध्य थिए। म उभिएर हेरिरहें, उनीहरुको विवशता अनि दरिद्रता।

Source: travelblogs.com

0 comments.:

Post a Comment